राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको 'वैशाख' शीर्षकको कवितामा वसन्त ऋतुको आगमनसँगै प्रकृतिमा देखिने परिवर्तनलाई प्रस्तुत गरिएको छ | बोटबिरूवा र चहुरहरू तथा डाँडाकाँडा सबै पालुवाले हरिया र सुन्दर देखिन्छन् | वसन्ती हावा विभिन्न फूलका वासनाहरू लिएर चारैतिर बहन्छ | मौरीहरू फूलको रस लिन झुम्मिन्छन्, गुराँस र बुकीफूलले प्रकृतिलाई निकैनै सुन्दर बनाएको हुन्छ | लेकमा गुहेंलो पाकेको हुन्छ, कस्तुरी सुगन्ध खोज्दै गिरिवन घुम्दछ, रङ्गीचङ्गी फूलहरूले प्रकृतिलाई सजाएका हुन्छन् | कोयलीले पनि वसन्तको आगमनलाई कुहूकुहूको गीतले स्वागत गरिरहेको हुन्छ | गोठालो सुसेली हाल्दै हिड्दछ, ऋतुपरिवर्तन हुनासाथ यो सुन्दर वातावरण पनि परिवर्तन हुन्छ | जब जेठको प्रचण्ड गर्मीले फूलहरू ओइलिन्छन्, कोयलीको गीत पनि सुनिदैन | यस्तै किसिमको प्राकृतिक वर्णन कविले यस कवितामा गरेका छन् |