नेपाली साहित्यका क्षेत्रमा मनोवैज्ञानिक विचारलाई समेटेर कथा सिर्जना गर्न सिपालु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ मा भारतको बनारसमा भएको हो | फ्रायडवादी कथाकारका रूपमा परिचित कोइरालाले विशेष गरेर यौनमनोविज्ञानलाई आफ्ना रचनाहरूको विषयवस्तु बनाएको पाइन्छ | उनका दोषी चस्मा र श्वेतभैरवी गरी दुई कथा सङ्ग्रह छन् भने नरेन्द्र दाइ, सुम्निमा, तीन घुम्ती आदि उपन्यासहरू लेखी नेपाली साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका छन् | कोइराला साहित्यमा मात्र प्रतिष्ठित नभई राजनीतिक क्षेत्रमा पनि अग्रपङ्क्तिमा स्थापित हुन सफल छन् | उनी आफ्ना कथामा स्थापित पात्रहरूको मनभित्रको भावनालाई केलाउन ज्यादै सिपालु छन् | साहित्य र राजनीतिमा सक्रिय कोइरालाको वि.सं. २०३९ सालमा निधन भएता पनि उनले आफ्ना अमूल्य कृतिहरू नेपाली साहित्य जगतलाई सुम्पिएक छन् |
प्रस्तुत कथामा कोइरालाले मानवमनमा उत्पन्न भएका असन्तुष्टिले मानसिक रूपमा सिर्जना हुने तनावलाई राम्ररी केलाएका छन् | यस कथाका प्रमुख पात्र केशवराज जो सधैँ दिनको दुई पटक जर्साबकोमा चाकरी गर्न धाउने गर्थ्यो, उसले एक दिन चाकरी गर्न नपाउँदा उसका मनमा उत्पन्न मानसिक तनावलाई एक – एक गरी छर्लङ्ग परेका छन् | "वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ" भन्ने उखान यहाँ केशवराजमा चरितार्थ भएको छ | केशवराज धरै नै शङ्कालु स्वभावका देखिन्छन् | 'तिललाई पहाड बनाउनु' भने झैँ सानो कुरालाई ठूलो बनाएर त्यसै सशङ्कित हुने उनको आदत रहेको पाइन्छ |
समग्रमा भन्नुपर्दा केशवराज अत्यन्त कमजोर मनस्थिति भएका व्यक्ति थिए | सानो विषय वा कुनै घटनालाई पनि ठूलो बनाई हेर्ने र सोच्ने प्रवृति भएकाले प्रस्तुत कथामा उनले आफ्नो चस्माको कारणबाट सिर्जना भएको सानो समस्यालाई आफैँले ठूलो बनाएका छन् | केशवराजलाई यस कथामा उनको आफ्नै मनको बाघले भित्रभित्रै खाइसकेको कुरालाई कथाकारले प्रमाणित गरेका छन् | यसरी प्रस्तुत कथाले केशवराजका माध्यमबाट मानव मनको गहन रूपमा चिरफार गरी विश्लेषण गरेको देखिन्छ |