Site icon Pathshala Nepal

“धनसम्पत्ति भन्दा नातासम्बन्ध ठूलो कुरो हो” भन्ने भनाइको पुष्टि|

"धनसम्पत्ति भन्दा नातासम्बन्ध ठूलो कुरो हो" भन्ने भनाइ कर्तव्य कथाका आधारमा पुष्टि गर्नुहोस् |


1 Answer


नेपाली आधुनिक कथाका विधाका प्रणेता गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) हुन् | उनले 'नासो' लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको पाइन्छ | उनले नेपाली समाजका यथार्थ घटनाहरूलाई जस्ताको तस्तै आफ्ना कथाहरूमा निकै नै कलात्मक ढङ्गले चित्रण गरेका छन् | सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित मैनालीले नेपालको ग्रामीणसमाजका मुल्य एवम् मान्यतालाई आधार बनाएर सहिद, नासो, परालको आगो, कर्तव्य आदिजस्ता अमूल्य कथाहरूको रचना गरी नेपाली साहित्यलाई दिएर उल्लेखनीय योगदान गरेका छन् | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेर मानवजीवनका दु:ख र पीडाहरूलाई मार्मिक ढंगले आफ्ना कथाहरूमा प्रस्तुत गर्न सफल मैनाली आदर्शमा विश्वास राख्ने हुनाले उनका रचनामा एक न एक आदर्शवादी चरित्र राखेकै हुन्छन्, र त्यस चरित्रले सधैँ पाठकहरूको उच्च महिमायुक्त जीवनका लागि अगाडि बढ्न अभिप्रेरित गरेको हुन्छ |

     प्रस्तुत कथा 'कर्तव्य' मा पनि आदर्शवादी विचारले प्रेरित मैनालीले आदर्श चरित्रका रूपमा मुरलीधरलाई उभ्याई भौतिक धनसम्पत्ति भन्दा नातासम्बन्ध नै ठूलो हुन्छ भन्ने आदर्शवादी विचारलाई उनको मध्यमद्वारा व्यक्त गराएका छन् | भौतिक धनसम्पत्तिका विषयमा मुरलीधर र श्रीधर दाजुभाइका बीचमा विवाद उत्पन्न भएपछि त्यसले जेजस्तो अवस्था सिर्जना गर्यो त्यो पक्कैनै दुवैका लागि उपलब्धिमूलक थिएन | समाजमा परम्परागत रूपमा गरिने सामाजिक, साँस्कृतिक आदि कार्यहरूमा नातासम्बन्धका व्यक्तिको सरसहयोग एवम् उपस्थिति महत्वपूर्ण हुन्छ | धनसम्पत्ति क्षणिक वस्तु हो भने नातासम्बन्ध रगतको हुने भएकाले यसलाई तुलनात्मक रूपमा धनसम्पत्तिभन्दा ठूलो मानिन्छ |

     यही दृटिकोणका आधारमा विवेच्य कथाका आदर्श पात्र मुरलीधरले भाइ अशक्तभएका कारण भतिजाको बिहेमा उपस्थित भएर आफ्नो रगतको नातासम्बन्धलाई समाजका अगाडि उच्चतम विन्दुमा पुर्याई स्थापित गरेका छन् | दाजुको यस कार्यको अनुसरण गर्दै भाइले पनि दाजुप्रतिको आस्थामा सुधार गर्दै जिउनी खेत आधा कमाउने सन्देश पठाउनु र दाजुले भाइलाई उपचारगर्न विदेशतिर लिएर जानुजस्ता कार्यले 'धनसम्पत्ति भन्दा नातासम्बन्ध नै ठूलो कुरा हो' भनी यस 'कर्तव्य' कथाका आधारमा पुष्टि गर्न सकिन्छ |   

Related Questions