जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं. १९३४ सालमा सेती अञ्चलको बझाङ जिल्लमा भएको थियो | यस जिल्लालाई विकसित गर्न जयपृथ्वीबहादुर सिंहले आर्थिक, सामाजिक, शैक्षिक आदि विभिन्न क्षेत्रको सुधारका कार्यहरू गरे | तत्कालीन राणाशासनको विरोधकाक्रममा उनी कहिले स्वदेश त कहिले विदेश बस्ने गर्थे | उपचारका लागि भारतको बङ्गलोरमा बसेका क्रममा वि.सं.१९९७ मा उनको त्यहीँ निधन भयो |
जयपृथ्वीबहादुर सिंह जहाँ जन्मेर जहाँ देह त्याग गर्न पुगेपनि उनले बाँचुन्जेल नेपाल र नेपालीहरूको कल्याणका लागि धेरै कार्यहरू गरे | जयपृथ्वीबहादुर सिंह शिक्षा र सुधार भनेपछि मरिमेट्ने खालका व्यक्ति थिए त्यसैले उनले राणाहरूको विरोध गर्दै मुलुकमा शिक्षाको विकासका लागि विभिन्न कार्यहरू गरे | उनले काठमाडौँको आफ्नो दरबारमा एउटा पाठशाला खोलेर पठनपाठन कार्यलाई सहज बनाए | उनले बझाङमा पनि पाठशालाहरू खोलेर आफैँ पुस्तकहरू लेख्न थाले | पुस्तक छाप्नका लागि उनको कलकत्ताबाट एउटा हाते प्रेस पनि किनेर ल्याएका थिए | उनले अरूलाई पनि पुस्तकहरू लेखन लगाएका थिए | जयपृथ्वीबहादुर सिंहले आफ्नो जीवनकालमा शैक्षिक विकासका लागि एकातिर पाठशालाहरू खोल्ने कार्य गरे भने अर्कातिर दुई दर्जनजति पुस्तकहरू पनि तयार गरे |
जयपृथ्वीबहादुर सिंहले राणा प्रधानमन्त्री देवशमसेरका सल्लाहकार भएर पनि काम गरेका थिए | देवशमसेरलाई पाठशालाहरू खोल्न र नेपाली भाषाको विकास गर्न उनले प्रसस्त सहयोग पुर्याएका छन् | यसका अतिरिक्त सिंहले नेपालको पत्रकारिताको विकासमा पनि प्रशस्त योगदान गरेका छन् | वि.सं. १९५८ सालदेखि प्रकाशित हुन थालेको नेपालको जेठो अखबार 'गोरखापत्र' का प्रधानसम्पादक र व्यवस्थापकका रूपमा पन्ध्र बर्षसम्म काम गरे | नेपालमा बालसाहित्यमा उनले नै पहिलोपल्ट कलम चलाएका थिए | पत्रकारिताको विकास गर्ने क्रममा उनले नेपालमा मात्र नभएर विदेशमा समेत केही कार्य गरे | उनले भारतमा बस्दा 'द् ह्युम्यनिष्ट' नामक मासिक पत्रिकाको प्रकाशन पनि गरेका थिए |
यसप्रकार जयपृथ्वीबहादुर सिंहले नेपालको शैक्षिक र पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको देखिन्छ | यदि जयपृथ्वीबहादुरले त्यसबेलाको विस्मपरिस्थितिबाट विचलित भएर आफ्नो अभियानलाई अघि नबढाएका भए नेपालले आज प्राप्त गरेको शैक्षिक र पत्रकारिताको यो स्तिथि भट्टाउन अझैँ कति बर्ष पर्खनुपर्ने थियो होला |