नेपाली साहित्यका बहुमुखी प्रतिभाका धनी राष्ट्रकवि तथा कविवर माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ सालमा लमजुङ्ग जिल्लाको पुस्तुन गाउँमा भएको हो | गौरी, राजेश्वरी, पापिनी आमा, शकुन्तला, मालतीमङ्गले जस्ता बहुचर्चित शोक काव्य, खण्डकाव्य र पद्यात्मक काव्य आदिको रचना गरी कवि घिमिरेले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान दिएका छन् | यस कवितामा घिमिरेले प्रकृतिप्रेमीको रूपमा आफूलाई चिनाएका छन् |
विवेच्य कवितामा कविले प्रकृति र मानवजीवन दुवै पक्षबीच एक आपसमा घनिष्ठ सम्बन्ध रहेको कुरालाई देखाएका छन् | प्राकृतिक वातावरणमा निरन्तर भइरहने परिवर्तनले मानव लगायत सम्पूर्ण प्राणीलाई प्रकृतिले प्रभावित पारिरहेको हुन्छ भन्ने कुरालाई कविले प्रमाणित गरेका छन् | छ वटा ऋतुहरूमध्ये कवि यहाँ वसन्तऋतुको समयमा प्रकृतिमा आउने परिवर्तन कस्तो रूपमा हुन्छ भन्ने कुरालाई देखाउँदछन् | वसन्तऋतुमा मात्र प्रकृतिमा परिवर्तन आउँछ भन्ने आशय कविको होइन, सबै ऋतुमा प्रकृतिमा परिवर्तन आउँछ तापनि यस कवितामा कवि वसन्त ऋतुमा भएको परिवर्तनप्रति बढी मोहित तथा आकर्षित भएको कुरा प्रस्तुत कविताले सङ्केत गरेको छ |
वसन्त ऋतुको समयमा चाहुर र डाँडाकाँडा हरिया हुनुका साथै गुरुङ्सेनीले गुराँसको फूल केशमा र भोटेनीले बुकी फूल चौबन्दी चोलोको तुनामा बाँधेर खुशी र आनन्द लिन्छन् भने कोइलीले पनि वन वनमा घुमेर मीठो प्रीतिको गीत घन्काईरहेको हुन्छ | विवेच्य कवितामा हरेक प्राणी आफ्नो जीवनमा वसन्तको आगमनलाई सहर्ष स्वीकार गरी त्यसमा रम्न चाहन्छन् भन्ने कुरालाई कविले पुष्टि गरेका छन् | वसन्त ऋतुको समय चैत र वैशाख महिना कविका लागि कहिल्यै आएर सकिदैनन् | अर्थात् चक्र जस्तै घुम्दै फिर्दै हरेक बर्ष आई नै रहन्छन् र यस ऋतुप्रतिको आफ्नो अन्तरात्माको हृदयमा उब्जिएको प्रेम पनि अनन्त भएको कुरा कवि यहाँ व्यक्त गर्दछन् | वसन्त ऋतुमा फूलेका फूलहरू जेठ महिमाको प्रचण्ड गर्मीमा वैलिने, कोइली पनि वनको पालुवा रूपी माइतीघर छोडेर विरहले हिड्ने र फूलको जस्तै कोमल तथा सुन्दर जवानीलाई हाँस्दै खेल्दै छोटो समय हामी मानिसहरू पनि यहाँ बिताउँदछौ |
प्रकृतिमा बोट बिरूवामा बोक्रा उप्किएर भएका घाउहरू समयको गति सँगसँगै जसरी पुरिन्छन् ठीक त्यसैगरी मानव जीवनमा पनि विगतमा सिर्जना भएका दु:ख र कष्टपूर्ण समयहरू वसन्तको आगमनसँगसँगै नयाँ वातावरणमा प्रवेश गर्दछ भनी मानवजीवनमा आउने परिवर्तन र प्रकृतिमा आउने परिवर्तनका बीचको अन्तरसम्बन्धलाई विवेच्य कवितामा कवि घिमिरेले यसरी चित्रण गरी प्रस्तुत गरेका छन् |