कविवर माधवप्रसाद घिमिरेले प्रस्तुत कवितामा परिवर्तन एउटा निरन्तर चलिरहने प्रक्रिया हो र यो शाश्वत नियम पनि भन्ने कुरालाई प्रस्तुत गरेका छन् | समय गतिशील छ, प्राकृतिक वातावरण पनि समयअनुसार नै चलिरहेको हुन्छ, जसरी प्रत्येक दुई दुई महिनामा प्राकृतिक वातावरण परिवर्तन हुन्छ, त्यसरी नै मानव जीवन पनि निरन्तर परिवर्तन हुँदै जान्छ | प्राकृतिक परिवर्तनलाई मौरी, कोइली, कस्तुरी आदिले स्वागत गरेजस्तै मानिसले पनि परिवर्तनलाई त्यसरी नै स्वागत गरी स्वीकार गर्नुपर्दछ | समयको गतिसँगै रूखका पात र बोक्रा फेरिने र घाउ पुरिए जस्तै नेपाली समाजमा रहेका परम्परागत थोत्रा भैसकेका सामाजिक मूल्य, मान्यता र वेथितिहरू पनि हट्दै नवीन मूल्य, मान्यता, परम्परा र नियमको स्थापना हुनुपर्छ भन्ने केन्द्रीय भाव यस कवितामा पाइन्छ |