मिथिला चित्रकला शीर्षक निबन्ध यसै पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले रचना गरेका हुन् | प्रस्तुत निबन्धका लेखक तथा सम्पादकहरूले नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका छन् | यस निबन्धमा लेखकद्वारा मिथिला क्षेत्रमा बर्षौ अघिदेखि प्रचलित नेपालको संस्कृतिको संरक्षण गर्दै आएको मिथिला चित्रकलाको परिचय र यसको सांस्कृतिक महत्वमाथि प्रकाश पारिएको छ |
मिथिला क्षेत्रमा मैथिल नारीहरूद्वारा निर्माण गरी प्रचलनमा ल्याएको मिथिला चित्रकलाका आफ्नै किसिमका मौलिक स्वरूप र विशेषताहरू पाइन्छन् | चित्र बनाउन प्रयोग गरिने रङ्गहरू बनाउने साधनहरू र तरिकाहरूमा नै मौलिकता पाइन्छ | चामलको पिठो, ध्वाँसो, सिमीको पात, बाख्रीको दूध, बेलको गुदी, सिन्दुर आदि जस्ता स्थानीय स्रोत र साधनहरूको प्रयोग हुनु पनि यसको मौलिकताभित्र पर्दछ | चित्र बनाइने साधनहरू पनि घरको भित्ता, भुइँ, कपडा, डाला, डाली, ढाकी आदि हुनुले समेत मिथिला चित्रकलाका मौलिक स्वरूप र विशेषताहरू प्रष्ट रूपमा झल्किन्छन् | चित्रकला प्रयोग गरिने अवसरहरू विवाह, ब्रतबन्ध, पूजा, चाडपर्व आदि सामाजिक तथा सांस्कृतिक अवसरहरू हुनुले पनि यस चित्रकलाका मौलिकतालाई अझ बढी चिनाएको छ |मिथिला चित्रकलाका स्रस्टाहरूले यो चित्रकला निर्माण गर्दा प्रकृति, मानिस, पशुपन्छी, कीराफट्याङ्ग्रा, पहाड, खोला, नदी, हिमाल आदि प्रतीकहरूको प्रयोग गर्नुले पनि यस चित्रकलाका मौलिक स्वरूप र विशेषताहरू स्पष्ट भएका छन् |
मिथिला प्रदेशबाट सिर्जना भएको मिथिला चित्रकलाले प्रमुख रूपमा मिथिला प्रदेशकै सामाजिक र सांस्कृतिक महत्वलाई अरू सामु प्रस्तुत गरेको छ | यस चित्रकलामा प्रयोग भएका सबै वस्तुहरू स्थानीय स्रोत र साधनहरूबाट नै निर्माण गर्नाले मिथिला चित्रकलाको मौलिकता र विशेषता अझ बढी प्रष्ट भएको छ |