न्यायको पक्ष कथा महाभारतको पौराणिक ग्रन्थबाट झिकिएको हो | यो कथामा महाभारतको विषयवस्तुमा आधारित भएपनि यसलाई एक नीतिमूलक, शिक्षामूलक, सन्देशमूलक कथा मानिन्छ | यस कथामा सत्य र असत्य, न्याय र अन्यायका घटनाहरूलाई देखाइएको छ | यस कथाले गरेको संकेतअनुसार यस धर्तीमा जन्मिएका सबै मानिसहरू एउटै स्वभावका हुँदैनन्, कोही असल हुन्छन् भने कोही खराब बानीका पनि हुन्छन् | कोही सत्यको पक्ष लिन्छन् भने कोहीले असत्यको पक्ष लिएका हुन्छन् | सत्यको मार्ग त्यागेर असत्यलाई रोज्नेले जीवनमा कहिल्यै सफलता पाउँदैनन् | उनीहरूलाई क्षणिक सुख भएपनि त्यसले भविष्यमा हानी गर्न पनि सक्छ | तर कोहीले भने सत्य वा न्यायको पक्षलाई अँगालेर सत्मार्गमा लागेका हुन्छन् | त्यसैले कसैले पनि असत्य र अन्यायको पक्ष लिनु हुँदैन सधैँ न्यायको पक्षमा लागिपर्नु उत्तम हुन्छ भन्ने सन्देश यस कथाले दिएको छ |