नेपाली साहित्य क्षेत्रको कथा र नाटक मार्फत आफ्नो नाम स्थपित गर्न सफल कथाकार बदरीनाथ भट्टराई वि.सं. १९६५ सालमा काठमाडौँमा जन्मिएका हुन् | कथाकार भट्टराईले नेपाली साहित्यलाई अनेकौँ नाटकहरू र कथाहरू लेखेर विशेष योगदान दिएका छन् | उनले नेपाली साहित्यको क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरी वि.सं. २०५२ सालमा उनी यस धर्तीबाट अस्ताए |
बदरीनाथ भट्टराईद्वारा लिखित प्रस्तुत 'न्यायको पक्ष' शीर्षक कथा पौराणिक ग्रन्थ महाभारतको कथावस्तुमा आधारित छ | यस कथामा कौरव र पाण्डवहरूको पारिवारिक कलह र षडयन्त्रले भरिपूर्ण भएको नैतिक, धार्मिक, राजनैतिक, कुटनैतिक आदि विभिन्न विषय वा क्षेत्रहरूको शिक्षा प्रदान गर्ने महाकाव्य हो | यसै अन्तर्गतको एक सानो अंश वा घटना यस कथामा प्रस्तुत गरिएको छ | प्रस्तुत कथाले सत्य र न्यायको पक्षमा लाग्न सबैलाई आग्रह गरेको छ |
नेपाली साहित्यका पौराणिक कथाकार भट्टराईद्वारा लेखिएको न्यायको पक्ष शीर्षक कथाले पौराणिक ग्रन्थ महाकाव्य महाभारतका दुई पत्रहरू धृतराष्ट्र र विदुरका चरित्रहरूका बारेमा केही भिन्नता पाइन्छ | धृतराष्ट्र र विदुर एउटै घरपरिवारमा जन्मिएका दाजुभाइ थिए | कार्य वा कर्मका हिसाबमा भन्ने हो भने धृतराष्ट्र राजा र विदुर मन्त्री हुन् | यति हुँदाहुँदै पनि यी दाजुभाइका चारित्रमा धेरै भिन्नता देखिन्छ | धृतराष्ट्र राजा भएर पनि अन्यायका पक्षमा लागेका देखिन्छन् भने विदुर मन्त्री भएर न्यायका पक्षमा लागेका देखिन्छन् | राजा बनेका धृतराष्ट्र जे जस्तो नीति लिएर भएपनि आफ्ना छोरा दुर्योधनलाई युवराज साथै राजा बनाउन इच्छुक देखिन्छन् | धृतराष्ट्र आफ्ना छोरा दुर्योधनको महत्वकांक्षका सामुन्ने झुकेका देखिन्छन् | उनी आफ्नो उक्त इच्छा पूरा गर्न आफूलाई र दरबार – भित्रका अन्य सम्पूर्ण व्याक्तिहरूलाई पनि अधर्मको मार्गमा लगाउन उत्साहित देखिन्छन् | यसका अतिरिक्त उक्त कार्यका लागि धृतराष्ट्र जसलाई त्याग्न पनि तयार देखिएका छन् | यसप्रकार धृतराष्ट्र अनैतिक, असत्य, अन्यायी र पुत्रका मोहमा चुर्लुम्म डुबेका देखिन्छन् |
विदुर हस्तिनापुर राज्यका मन्त्री मात्र नभएर एक कुशल राजनीतिज्ञ पनि भएकाले उनी धृतराष्ट्रको विचारसँग सहमत थिएनन् | विदुर दुर्योधनका सट्टामा युधिष्ठिरलाई हस्तिनापुरका उत्तराधिकारी बनाउन चाहन्थे | कौरवहरूका तुलनामा पाण्डवहरू बढी नै न्यायप्रेमी, कुशल र योग्य छन् भन्ने विचार विदुरको थियो | यसबाट पनि यो प्रष्ट हुन्छ कि प्रस्तुत कथाका पात्र विदुर कुशल राजनीतिज्ञ, न्यायप्रेमी, सत्यवादी आदि अनेकौँ चरित्रका देखिन्छन् |