नेपाली साहित्य क्षेत्रका प्रसिद्ध हाँस्यव्यङ्ग्यकारका रूपमा परिचित भैरव अर्याल वि.सं. १९९३ मा ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् | साहित्यको हाँस्यव्यङ्ग्य क्षेत्रमा अर्यालका काउकुती, गलबन्दी, मपाईं, जयभूँडी, इतिश्री आदि जस्ता हाँस्यव्यङ्ग्य सङ्ग्रहहरू निकै नै चर्चित छन् | हाँस्यव्यङ्ग्य क्षेत्रका प्रखर तथा विशिष्ट लेखनका रूपमा परिचित अर्यालको वि.सं. २०३३ मा काठमाडौँको गोकर्णमा निधन भयो | यीनै रचना मार्फत रुढीवादी, अन्धविश्वास, सामाजिक अन्यया र कुसंस्कारप्रति तिखो घोचपेच गर्नका साथै प्रस्तुत निबन्धमार्फत नेपाली समाजको जुनसुकै क्षेत्रमा प्रचलित भोलिवादको तितो सत्यलाई देखाउँन पनि आर्यल सफल भएका छन् |
भोलि भन्नासाथ आजको भोलिपल्टको दिन या आउने दिन भन्ने बुझिन्छ र मानिस आज पूरा गर्न नसकेको सम्पूर्ण कार्यलाई भोलि पूरा गर्ने सुनौलो परिकल्पनाका साथ निदाउँछ तर उज्यालो हुँदा उसको भोलि आजमा परिणत भइसकेको हुन्छ | आजको काम भोलिका लागि राख्नु नेपालीको परम्परा हो, एक सभ्यता हो र एक संस्कृति पनि हो | यसरी नेपाली समाजमा भोलिवाद मलजलका साथ जरो गाडेर फस्टाउँदैछ र बढ्दैछ | हाम्रो समाजमा हुँदा हुँदा यो भोलिवाद यसरी विकसित भइसकेको छ कि सामाजिक क्षेत्रमा होस् या शिक्षा क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस् या प्रशासनिक क्षेत्रमा, जुनसुकै क्षेत्रमा गएपनि भोलिवादको विकास भएको पाइन्छ | अड्डा अदालतदेखि लिएर सिंहदरबारसम्म भोलिवादले गहिरो रूपमा जरा गाडिसकेको पाइन्छ |
यसरी जताततै नेपाली समाजमा भोलिवादले खुट्टो घुमाएर रजाईं गरेको कुरातर्फ लेखकले सङ्केत गरेका छन् | भोलिवाद एक सामाजिक रोग मात्र नभएर राष्ट्रिय रोग नै बनिसकेको कुरालाई लेखकले पुष्टि गरेका छन् | एक घर परिवारका श्रीमान श्रीमती बीचमा घर व्यवहार चलाउन आवश्यक वस्तु पूरा गर्नुपर्ने सिलसिलामा पनि भोलिवाद झन् सक्रिय भएको कुरालाई औल्याउँदै, आगलागी जस्ता दैवी प्रकोपबाट हुन लागेको धनजनको क्षतिलाई गरिनुपर्ने सुरक्षा र जीवन मरणको सङ्घर्ष गरिरहेका विरामीको उपचार गर्नुपर्ने जस्ता संवेदनशील विषयमा समेत भोलिवाद अछुतो छैन | भोलिवादले हामीलाई सिर्जनाको बाटोमा लाग्नबाट हटाएर निष्क्रियतातिर धकेल्दै छ | जबाम्म भोलिवादलाई जरैदेखि उखेलेर फाल्न सकिदैन तबसम्म देश विकास असम्भव छ | मानिसले भोलिको लागि थाती नराख्ने काम एउटै छ, त्यो हो खाने काम, यी बाहेक सबै कार्य हामीमा भोलिलाई थाती राख्ने बानी बसिसकेको लेखक बताउँछन् |