नेपालीहरू आफ्नो घरको कमजोर आर्थिक अवस्थालाई सुधार्नुका लागि धन कमाउने उदेश्यले विदेशतर्फ जाने गर्दछन् भन्ने कुरालाई नाटककारद्वारा यस एकाङ्कीमा एकातर्फ देखाइएको छ भने अर्कातर्फ विदेशमा पनि भनेजस्तो राम्रो र सन्तोषजनक काम पाउँन नसक्दा दु:ख कष्ट झेल्नु पुग्दछन् भन्ने यथार्थलाई प्रष्ट रूपमा औंल्याइएको छ | त्यस्तै यस एकाङ्कीमा 'घर' शब्दले आफ्नो देश र 'माया' शब्दले आफ्नो देशप्रतिको गहिरो प्रेमको भावनालाई सङ्केत गरेको छ | अर्थात् आफू जन्मिएको देशलाई कसैले कहिल्यै भुल्नुहुँदैन भनी देशप्रतिको मायालाई एकाङ्कीले देखएको छ | नेपाली हृदयका लागि विदेश भनेको सुन र हिरा नै फल्ने भए पनि नरककुण्ड जस्तै हो र स्वदेश भनेको रूखो जमिन भए पनि स्वर्गसमान हुन्छ | आफ्नै देशमा रमाउँदै, हाँस्दै र खेल्दै परिश्रम गरी उन्नतिको मार्गमा लम्कदा मात्र आफ्नो र आफ्नो देशको उन्नति एवं प्रगति हुन्छ भन्ने देशभक्तिपूर्ण भावनाले प्रेरित मार्मिक सन्देश यस एकाङ्कीले दिएको छ |