नेपाली साहित्य क्षेत्रको आधुनिक कथाका प्रारम्भकर्ता गुरुप्रसाद मैनाली (वि.सं. १९५७ – २०२८) हुन् | उनले नेपाली समाजका यथार्थ घटनाहरूलाई जस्ताको तस्तै आफ्ना कथाहरूमा निकै नै कलात्मक ढङ्गले चित्रण गरेका छन् | सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित मैनालीले नेपालको ग्रामीणसमाजका मुल्य एवम् मान्यतालाई आधार बनाएर शहिद, नासो, परालको आगो, कर्तव्य जस्ता कथाहरू नेपाली साहित्यलाई दिएका छन् | समस्याग्रस्त नेपाली समाजलाई नजिकैबाट नियालेर मानवजीवनका दु:ख र पीडाहरूलाई उनले आफ्ना कथाहरूमा झल्काएका हुँदा मैनालीलाई सामाजिक यथार्थवादी कथाकार मानिन्छ |
मैनालीको विवेच्य कथा 'कर्तव्य' एक सामाजिक कथा हो | यस कथाले परम्परित नेपाली समाजको एउटा सानो घटनालाई प्रस्तुत गरेको छ | नेपाली समाजमा पैतृक सम्पत्ति छोराहरूले अंशवण्डा गर्ने सामाजिक परम्परा रहिआएको छ | बाबुआमाका शेषपछि उनीहरूका नाममा रहेको जिउनी सम्पत्तिलाई पनि सोही परम्पराअनुसार बाँड्ने प्रचलन एकातर्फ पाइन्छ भने अर्कातर्फ बाँचुन्जेल जुन छोरासँग बाबुआमा बसेका हुन्छन् या जसले पालेको हुन्छ मृत्युपश्चात् त्यही छोराले जिउनी सम्पत्ति उपभोग गर्ने प्रचलन पनि कायमै छ | यही पैतृक जिउनी सम्पत्तिका विषयमा बाबुआमाले जीवनको अन्तिम घडीमा जे भनेर परमधाम भएका हुन्छन्, सोहीअनुरूप गर्ने प्रचलन पनि नेपाली समाज कायमै छ | यस्तै झिनामसिना विषयमा छोराहरूका बीचमा एकआपसमा मनमुटाव हुने गर्दछ र त्यसले उग्ररूप पनि लिन सक्दछ, बोलचाल र आवतजावत समेत बन्द हुन जान्छ तर त्यसो भयो भन्दैमा आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिनु हुँदैन | आफूले सकारात्मक दृष्टिकोण राखेर सत्कर्म गरेपछि अर्काको मनमा पनि सकारात्मक भावनाको विकास हुन सक्छ | "आफू भलो त जगत् भलो" भन्ने नेपाली उखान नै छ |
समग्रमा भन्दा आफूले सदैव राम्रो व्यवहार ग्रहण गरी असल कर्म गरे अर्कोले पनि आफूप्रति त्यस्तै व्यवहार गर्न बाध्य हुन्छ भन्ने नेपाली समाजका यी र यस्तै वास्तविकताहरूलाई प्रस्तुत कथा 'कर्तव्य' मा कथाकार मैनालीले देखाउन खोजेका छन् |