'इमानसिंह चेमजोङ' शीर्षक जीवनी कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाबेस छ | यस जीवनीका लेखक यसै पाठ्यपुस्तक लेखक तथा सम्पादकहरू हुन् | उनीहरूले नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेख्य योगदान दिएका छन् | यस जीवनीमा इमानसिंह चेमजोङको परिचय दिनुका साथै उनले किराँती भाषा, धर्म, लिपि र संस्कृतिको जगेर्ना र उत्थानमा पुर्याएको योगदानको समेत चर्चा गरिएको छ | सन् १९०४ मा दार्जिलिङको कालेबुङमा जन्मिएका इमानसिंह चेमजोङले आफ्नो व्यक्तिगत खोज, अध्ययन र परिश्रमबाट किराँत जातिको भाषा, लिपि, धर्म, संस्कृतिका लागि प्रशस्त साथै विशिष्टयोगदान गरेका छन् | उनले लोप हुन लागेको किराँती भाषा र संस्कृतिका क्षेत्रमा काम गर्दागर्दै सन् १९७५ मा उनको निधन भयो |
इमानसिंह चेमजोङले किराँत भाषा र संस्कृतिको उन्नतिमा महत्वपूर्ण योगदान दिएको देखिन्छ | आफ्नो जातिलाई कसैले जङ्गली भनेको सुन्दा उनलाई नराम्रो लागेको र पछि उनले किराँतीहरूको पनि आफ्नै मौलिक भाषा, लिपि, र संस्कृति रहेको थाहा पाए | त्यसैको खोजीका क्रममा उज्ले किराँतीहरूको पुरानो हस्तलिखित ग्रन्थ हात परेपछि उनी किराँती संस्कृतिका क्षेत्रमा जागरुक भएर लागे | सन् १९२५ देखि उनी निकै सक्रिय रूपले यससम्बन्धी खोज र अनुसन्धानमा लागे | कलेजमा पढ्दा पनि चेमजोङ आफ्नो जाति, भाषा, सभ्यता, संस्कृति, लिपि र इतिहासका बारेमा निकै चासो देखाउँथे | उनले आफ्नो घरमा भोटे जातिका पुराना हस्तलिखित कागजपत्रहरूको सङ्कलन गरी तिनको अध्ययन एवम् विश्लेषण पनि गरे | उनी आफ्नो भाषा र संस्कृतिको उन्नतिका लागि मन, वचन र कर्मले सदैव तल्लीन हुन थाले |
इमानसिंह चेमजोङले नेपाल र भारतका विभिन्न ठाउँहरूमा भ्रमण गरी आफ्नो भाषा, लिपि र संस्कृतिको विस्तृत खोजका साथै प्रचार – प्रसार पनि गरे | सन् १९५३ मा नेपालको लिम्बूवान क्षेत्रमा आई उनले त्यहाँ "लिम्बूवान सुधार सङ्घ" को गठन गरे | आफ्नो भाषा र संस्कृतिको अस्तित्वरक्षाका लागि प्रतिनिधि मण्डलको नेतृत्व गरी उनी काठमाडौँ आए | उनले दश वर्षसम्म लिम्बूवान क्षेत्रमा रहेर सामाजिक कुरीति, समाजसुधार, शिक्षाको प्रचार र अनुसन्धानमा जीवन लगाए | उनले जीवनको धेरै वर्ष शिक्षण पेशामा बिताए पनि उनको व्यक्तित्वको महत्वपूर्ण पक्ष भने किराँती वाङ्गमय र संस्कृतिको सुदृढीकरणमा नै खर्च भएको थियो |
अन्यत्र बसेर आफ्नो भाषा र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान नपुग्ने देखे पछि उनी काठमाडौंमा नै बस्न थाले | करिब पन्ध्र वर्षसम्म नेपाल र एसियाली अनुसन्धान केन्द्रमा रही उनले आफ्नो अध्ययन क्षेत्रलाई विस्तार गरे | कुनैपनि भाषालाई जीवन्त राख्न पुस्तकहरूको पनि विशेष स्थान रहने हुँदा उनले लिम्बू भाषामा व्याकरण, शब्दकोश, लिपि, संस्कृति, धर्म, दर्शन, इतिहाससम्बन्धी विभिन्न ग्रन्थहरू प्रकाशित गरे | यसप्रकार के देखिन्छ भने इमानसिंह चेमजोङले किराँती भाषा र संस्कृतिको उन्नतिमा महत्वपूर्ण योगदान दिएका छन् |