March 5, 2020
विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाउनुभयो ।
“यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौँ, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उहाँले जनाउनुुभयो ।
“कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन; यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु)मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ”, उहाँले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भन्नुभयो, “प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा यस्तो देखिएको छैन ।”
अहिलेको आवश्यकता कोरोनाविरुद्धको एन्टिबडी खोज्नु रहेको औँल्याउँदै उहाँले भइरहेका अध्ययनले सघाउने विश्वास व्यक्त गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरेको प्रोटोकल अनुसार हरेक देशले अध्ययन गरेर त्यो सार्वजनिक गर्न सक्ने विषयमा हौस्याउनुभएको छ ।
दोस्रो भिन्नताका बारेमा प्रस्ट्याउँदै उहाँले मौसमी फ्लुभन्दा कोरोनाले अधिक गम्भीर रोग निम्त्याउँछ । मौसमी फ्लुको प्रतिरोधात्मक क्षमता निर्माण भइसकेको छ तर कोभिड–१९ नयाँ भाइरस भएकाले यसको प्रतिरोध बनेको छैन । यसका कारण धेरै मानिस अझै सङ्क्रमणको जोखिममा छन् । यसकै कारण केही मानिस गम्भीर रोगले ग्रस्त हुन सक्ने उहाँले बताउनुभयो ।
मौसमी फ्लुको तुलनामा कोरोनाबाट बढी मृत्युदर कायम भएको छ । सङ्क्रमितमध्ये मौसमी फ्लुले एक प्रतिशत कम मृत्युदर रहेको देखिएको छ । तर हालसम्मको परिणामले कोरोनाबाट कुल सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भइरहेको देखाएको छ ।
चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । चिनिया सेनाको मेजर जनरलको एक टोलीले कोरोना विरुद्धको भ्याक्सिन बनाएको चीनले दाबी गरेको छ । हाल परीक्षणका क्रममा रहेको यो भ्याक्सिन छिट्टै नै आम उपचारका लागि सार्वजनिक गरिने चीनले बताएको छ ।
२० खोप परीक्षण चल्दै
तेस्रो फरकका बारेमा बताउँदै ग्रेबियसले कोरोनाको उपचार पद्धति र खोप उपचार पहिले नआएको उल्लेख गर्नुभयो । तथापि हालै गरिएका परीक्षणले २० वटा खोप विकास भइसकेका छन् । यिनको चिकित्सकीय परीक्षण चलिरहेको छ ।
चौथो फरकमा उहाँले मौसमी फ्लु नियन्त्रण गर्न नसकिने तर कोरोना भाइरस नियन्त्रण सम्भव रहेको विश्वमाझ जानकारी दिनुभएको छ । अन्य फ्लुमा देशहरूले सम्पर्कविच्छेद गर्दैनन् तर कोरोनामा गर्नुपर्छ । यसले सङ्क्रमणबाट जीवन बचाउँछ । यी फरकका आधारमा विश्व स्वास्थ्य सङ्गठनले अन्य फ्लुभन्दा कम फैलने र सङ्क्रमण नभएको मानिसबाट सर्दैन भनेको छ । तर कोरोनाले गम्भीर बिरामी निम्त्याउँछ । यसको कुनै खोप र उपचार पद्धति भएर लागू
भएको अवस्था छैन । यथासक्य छिटो त्यो उपचार र खोप पद्धति विकास गर्न सबै देशको सहभागिताका लागि आह्वान गरिएको छ । त्यस्तै फ्लुको जसरी उपचार नगर्न सिफारिस गरिएको छ ।
अत्यावश्यक सामग्रीको अभाव
देशको आपसी सुरक्षाको उपायसँगै बढ्दो माग, भण्डारण र दुरुपयोगका कारण विश्वव्यापी आपूर्तिमा समस्या बढेको जनाउ उहाँले दिनुभयो । पन्जा, मेडिकल मास्क, चस्मा, अनुहार छोप्ने सामग्री, गाउन, एप्रोनको अभावले स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गर्न मुस्किल भइरहेको छ । स्वास्थ्यकर्मीको सुरक्षाबिना कोरोना रोक्न नसकिने भएकाले संवेदनशील हुन आग्रह गरिएको छ । सर्जिकल मास्कको मूल्य दुई गुणा बढेको, एन–९५ मास्क र गाउनको मूल्य तीन गुणाले बढेको डब्लूएचओले जनाएको छ ।
बिचौलियाले भण्डारण गरेको सामान खरिद गर्दा बजारमा मूल्य बढेकाले ती सामग्रीको उत्पादन बढाउन आह्वान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाको उपचार गर्न मासिक ८९ लाख मेडिकल मास्क आवश्यक पर्छ । त्यस्तै ७६ लाख ग्लोब्ज र एक लाख गोगल आवश्यक पर्छ । इरान र चीनमा सङ्गठनले आफैँ काम गरिरहेकाले त्यो आपूर्ति गर्न कठिनाइ भइरहेको जनाएको छ । यस्ता अत्यावश्यकीय सामग्री तत्काल ४० प्रतिशतले बढी उत्पादन गर्नुपर्ने अवस्था रहेको औँल्याइएको छ ।
बढ्दो उमेरमा मृत्युदर बढी
युरोप क्षेत्रमा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले कोरोनाको जोखिम न्यूनीकरणको उपाय अपनाएको छ । उसको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ७० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी छ । महिलाका तुलनामा पुरुष बढी छन् । पुरुषमा मृत्युदर २.८ र महिलामा १.७ प्रतिशत छ । यसअनुसार यो उमेर समूहका सङ्क्रमितको मृत्युदर ८ प्रतिशत छ । ६०–६९ वर्षका ३.६ प्रतिशत, ५०–५९ वर्षका १.३० प्रतिशत, ४०–४९ वर्षका ०.४० प्रतिशत, १०–३९ वर्षका ०.२० प्रतिशत र १–९ वर्षका शून्य प्रतिशत मृत्युदर छ ।
कोरोना भाइरस सङ्क्रमण भएका एक हजारमध्ये पाँचदेखि ४० को ज्यान जाने गरेको अनुसन्धानकर्ता बताउँछन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ । विभिन्न देशमा सङ्क्रमण पत्ता लगाउने, गणना गर्ने कुरामा एकरूपता नहुँदा मृत्युदर फरक देखिएको ब्रिटेनस्थित इम्पिरिकल कलेजको अनुसन्धानले देखाएको छ । चीनमै ४४ हजारभन्दा बढी सङ्क्रमणको विश्लेषणले वृद्ध मानिसको मृत्युदर १० गुणा बढी रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन र चीनद्वारा संयुक्त रूपमा गरिएको अध्ययन प्रतिवेदनअनुसार एक ५० वर्षीय पुरुषको मृत्युपछि उसको मुटु, कलेजो र फोक्सो थप परीक्षण गरिएको थियो । यी सबै अङ्ग कोरोनाको सङ्क्रमणले काम गर्न नसक्ने बनाएको थियो । फोक्सोमा निमोनिया र त्यहाँका सेल क्षतविक्षत भएको पाइएको थियो । मुटु, मधुमेह, क्यान्सर तथा अन्य क्रोनिक रोग लागेका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ ।
It wasn’t because of our culture, it was because of our leadership When did America start losing its war against the coronavirus? How did we find ourselves international pariahs, not even allowed to travel to […]
Curriculum development center Sanothimi Bhaktapur under the Ministry of Education, Science, and Technology has released the price of new books from class 1 to class 12 for the educational year 2080. The price is only […]
PathshalaNepal.com is a Registered Company of E. Pathshala Pvt Ltd Nepal. Registration number : 289280
© 2020. All right Reversed.E. Pathshala Pvt Ltd